मिक्लाजुङमा ‘सर्च अभियान’ सुरु गर्दै प्रहरी


मोरङ– विप्लव समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङमा एक शिक्षकको बर्बरतापूर्वक तरिकाबाट हत्या गरेपछि प्रहरीले सर्च अपरेसनको तयारी गरेको छ ।

मंगलबार मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले घाँटी रेटेर हत्या गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्न उत्रिएपछि उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले त्यस क्षेत्रमा सर्च अपरेसन सुरु भएको जानकारी दिँए । घटनाबारे जानकारी दिँदै उनले भने, ‘धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको छ । प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन सुरु भईसकेको छ ।”

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुईजना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए ।

प्रतिक्रिया