१८ औं हस्तकला व्यापार मेलाः मंसिर ३ देखि
काठमाडौं – नेपाल हस्तकला महासंघले मंसिर ३ देखि ५ सम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं प्रदर्शनी गर्ने भएको छ । मेला बौद्धस्थित होटल ह्यात रिजेन्सीमा गरिने महासंघले काठमाडौंमा सोमबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपालमा विशिष्ट मौलिक पहिचान बोकेको हस्तकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याई स्वदेशी वस्तुको उत्पादन तथा स्वरोजगारको वातावरण सिर्जना गर्न महासंघले प्रत्येक वर्ष मेला तथा प्रदर्शनी गर्दै आएको छ । अघिल्लो वर्ष भने महामारीका कारण महासंघले कार्यक्रम स्थगन गरेको थियो ।
कोरोना महामारीका कारण नेपालको हस्तकला उद्योग व्यवसायमा समेत प्रतिकूल असर पारेको महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले बताए । प्रदर्शनी तथा मेलाले आन्तरिक बजार र निर्यात व्यापारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिने उनको भनाइ छ ।
‘हस्तकला क्षेत्र निर्यातमा बढी निर्भर रहेकाले कोरोनाले यसलाई बढी प्रभावित पारेको छ,’ उनले भने, ‘आर्थिक मन्दीसँगै शिथिल बनेको बजारलाई मेलाले थप ऊर्जा प्रदान गर्नेछ ।’ हस्तकला उद्योगमार्फत नेपालले वार्षिक १० देखि १२ अर्ब रुपैयाँको निर्यात व्यापार गर्छ । महामारीको समयमा समेत ६ देखि ७ अर्ब हारामारीमा हस्तकलाका वस्तु निर्यात गरिएको उनले बताए ।