आचार्य सरकारको ७५ राजनीतिक नियुक्ति खारेज गर्दै मुख्यमन्त्री राई


विराटनगर – प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई खारेज गर्ने भएको छ ।

मुख्यमन्त्री राईको निर्देशनमा प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम सल्लाहकार समितिसम्म नियुक्ति पाएका ७५ जनाले पद गुमाउने भएका हुन् ।

राई नेतृत्वको सरकारले यसअघिका विश्वासको मत लिन नसकेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्नुपर्ने निष्कर्ष निकालेको हो । संसदबाट विश्वासको मत नलिइकनै ६८ दिन प्रदेश सरकार चलाएका आचार्य र उनको नेतृत्वको सरकारले त्यसबीचमा विभिन्न पदमा कार्यकर्ता भर्ती गरेको भन्दै गठबन्धनले ती सबै नियुक्तिलाई खारेज गर्नुपर्ने ठहर गरेको स्रोत बताउँछ ।

मन्त्रिपरिषद्को पहिलो बैठकमा नै राई नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेजी प्रक्रिया थाल्ने निर्णय गरेको थियो । ‘संविधानले चिन्दै नचिनेको सरकारले गरेका नियुक्तिहरु स्वतः अवैधानिक हुन्छन्,’ मुख्यमन्त्री राईले भने, ‘त्यसैले अब खारेजी प्रक्रिया सुरु हुनेछ ।’

कात्तिक ४ मा आचार्य नेतृत्वको सरकारले एकै दिन २२ जनालाई विभिन्न बोर्ड र समितिमा नियुक्त गरेको थियो । आचार्य सरकारले प्रदेश पर्यटन बोर्डमा ६ जना, खेलकुद विकास बोर्डमा ५ र प्रदेश श्रम सल्लाहकार समितिमा ११ जनालाई नियुक्ति दिएको थियो । यसरी नियुक्ति पाउनेमा एकाधबाहेक सबै एमाले कार्यकर्ता हुन् । आचार्य नेतृत्वको सरकारले प्रदेशमा सबैभन्दा धेरै नियुक्ति खेलकुद क्षेत्रमा गरेको थियो ।

प्रतिक्रिया