पौडेल मृत्यु प्रकरणः चितवन मेडिकल कलेज र अध्यक्षविरुद्ध उजुरी (पूर्णपाठसहित)

मेडिकल काउन्सिल, मानव अंग प्रत्यारोपण समन्यव समिति र सिडिओ कार्यालयमा उजुरी


काठमाडौं – चितवन भरतपुर महानगरपालिका–६ का बोधराज पौडेलको मृत्यु चितवन मेडिकल कलेज (सिएमसी) को लापरबाहीले भएको भन्दै अस्पतालविरुद्ध मृतकका छोरा प्रशन्न पौडेलले तीन ठाउँमा उजुरी दिएका छन्।

सिएमसीका नक्कली कलेजो प्रत्यारोपण शल्यचिकित्सकहरुको लापरबाहीले बुबाको उपचारको क्रममा मृत्यु भएको आरोप लगाउँदै नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौं, मानव अंग प्रत्यारोपण समन्यव समिति स्वास्थ्य विभाग, टेकु काठमाडौं र जिल्ला प्रशासन कार्यालय (सिडिओ) चितवनमा प्रशन्नले उजुरी दिएका हुन्।

उजुरीमा चितवन मेडिकल कलेज (सिएमसी), सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर हरिश चन्द्र न्यौपाने र सिएमसीमा कार्यरत स्वघोषित कलेजो प्रत्यारोपण शल्यचिकित्सक डाक्टर सञ्जय कुमार यादवविरुद्ध जाहेरी दिएको प्रशन्नले बताए।

प्रशन्नका अनुसार अस्पताल, अस्पतालका सञ्चालक र डाक्टरविरुद्ध मेडिकल काउन्सिलमा कात्तिक १७ गते, मानव अंग प्रत्यारोपण समन्वय, समितिमा कात्तिक २१ गते र जिल्ला प्रशासन कार्यालय चितवनमा कात्तिक २३ गते उजुरी दिइएको हो।

उजुरीमा बुबा (मृतक पौडेल)को उपचार गर्ने क्रममा अस्पतालले चरम लापरबाही, गैरकानुनी काम र नराम्रो किर्ते गरेको फेला परेको भन्दै कारबाहीको माग गरिएको छ। मनव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को परिच्छेद–५ मा ‘अपराध र दण्डसजाय’ सम्बन्धि व्यवस्था रहेको छ।

पौडेलको गत ५ असोजमा सिएमसीमा कलेजो प्रत्यारोपणसँगै मृगौलामा भएको पथ्थरीको समेत शल्यक्रिया गरिएको थियो। तर, १२ घण्टा पनि नबित्दै पौडेलको आईसीयूमै ज्यान गयो। हाँस्दै अपरेशन थिएटरभित्र छिरेका पौडेलको पछि अस्पतालले परिवारलाई लाश बुझाएको थियो।

पैडेललाई प्रत्यारोपणको लागि कलेजो आफ्नै श्रीमती सुशीला पौडेलले दिएकी थिइन्। मृतक पौडेलको कलेजो प्रत्यारोपण गर्ने मुख्य डाक्टर हुन्, सञ्जय कुमार यादव।

पौडेलको मृत्यु भएपछि डा. यादव आफू जोगिन अरुलाई आरोप लगाउन थालेको समेत पाइएको छ। कलेजो प्रत्यारोपण शल्य चिकित्सक भनिएका डा. यादवका अनुसार पौडेलको मृत्यु मृगौलाको पथ्थरीको शल्यक्रिया गर्दा संक्रमण भएर भएको हो।

यस विषयमा बुझ्न शुक्रबार अस्पतालका सिईओ प्रताप देवकोटालाई फोन सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको बताए। उनले भने, ‘यस विषयमा मलाई धेरै कुरा थाहा छैन। त्यतिबेला म बाहिर थिए। यस विषयमा के भएको हो म बुझ्छु नि।’

यसअघि शनिबार पौडेल मृत्यु प्रकरणबारे अनलाइनन्यूज७ मा ‘चितवन मेडिकल कलेजको लापरबाहीः श्रीमानलाई बचाउन कलेजो दिइन्, तर…! शीर्षकमा समाचार प्रकाशित भइसकेको छ।

यस विषयमा बुझ्न अस्पतालका अध्यक्ष न्यौपानेलाई फोन सम्पर्क गर्दा रिसिभ गरेका थिएनन्। उनले उल्टो के बारेमा बुझ्न खोज्नुभएको हो भन्दै म्यासेज गरे। म्यासेजमा बोधराज पौडेलको घटना के हो भनेर सोध्दा रिप्लाई समेत दिएनन्।

यस्तो छ मेडिकल काउन्सिलमा परेको उजुरी

यस्तो छ सिडिओ कार्यालयमा परेको उजुरी

यस्तो छ मानव अंगथ प्रत्यारेपण समन्वय समितिमा परेको उजुरी

(बोधराज पौडेल मृत्यु प्रकरणबारे हामी थप फलोअपमै छौं। अर्को श्रृंखला पढ्न हामीलाई फलो गर्नुहोला।)

प्रतिक्रिया