मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत, पक्षमा ५९ र विपक्षमा ४३ मत


हेटौंडा – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आज (सोमबार) को बैठकमा पाण्डेले पेस गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा कुल उपस्थित १ सय ४ जनामध्ये ५९ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका छन् भने विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका छन् भने ५ जना अनुपस्थित भएका छन् ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएलगत्तै प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डे प्रदेश सभामा संसदीय दलका नेता  रहेका थिए । उनी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा गत कात्तिक ११ गते वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया