हतियारधारी समूहको आक्रमणबाट नाइजरमा ११ सैनिक मारिए, ९ बेपत्ता


नाइजर – नाइजरको दक्षिण पश्चिम क्षेत्रस्थित ग्रामीण भेगमा अज्ञात बन्दुकधारीको आक्रमणबाट ११ सैनिक मारिएका छन् भने अरु ९ जना बेपत्ता छन् । नाइजरको दुर्गम भाग डाग्ने गाउँमा सुरक्षा गरिरहेका सिपाहीहरू मारिएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल र कारमा ठूलो संख्यामा आएका हतियारधारी समूहले गाउँको सुरक्षार्थ बसेका सुरक्षाकर्मीमाथि हमला गरेका थिए । डाग्ने नामको उक्त गाउँ मालीसँग सीमा जोडिएको क्षेत्र पनि हो ।

शुक्रबार यहाँको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस घटनाबारे जानकारी दिएको हो । सरकारले जारी गरेको विज्ञप्तिमा यस घटनालाई आतंककारी समूहले आक्रमण गरेको जनाइएको छ । सरकारका अनुसार घटनामा एक जना सुरक्षाकर्मी घाइतेसमेत भएका छन् ।

घटनाबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । यसै वर्ष मात्रै यस क्षेत्रमा आईएसआईएसका लडाकूको आक्रमणबाट सयौंको संख्यामा स्थानीयहरू मारिएका छन् । दुई दिनअघि मात्रै यस क्षेत्रबाट १६० किलोमिटर टाढाको मालियन सीमा क्षेत्रमा यस्तै आक्रमणमा ६९ जना मारिएका थिए ।

प्रतिक्रिया