प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले सम्झिए शंखधरको योगदान


भक्तपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमी चोकस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् । नेपाल संवत् ११४२ विधिवत रुपमा सुरु भएको दिनका अवसरमा देउवाले शुक्रबार विहान भक्तपुरको थिमि चोकमा रहेको राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको बताए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

प्रतिक्रिया