दक्षिण अफ्रिकी लेखक गाल्गटको ‘द प्रमिस’लाई ५० हजार पाउण्डको बुकर पुरस्कार


दक्षिण अफ्रिका – दक्षिण अफ्रिकी लेखक डेमन गाल्गटले ‘द प्रमिस’ उपन्यासका लागि यो वर्षको बुकर पुरस्कार जितेका छन्।

सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि मनोनयनमा परेका उनले बुधवार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार हात पारेका हुन्।  द प्रमिस उनको नवौँ उपन्यास हो र त्यसमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको आख्यान छ।

निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासलाई “कुशल उपलब्धि” को सङ्ज्ञा दिएकी छन्।  गाल्गटको कृतिमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएको उनको भनाइ छ।

“यसमा कथावाचनको उत्कृष्ट शैली छ, उत्कृष्ट विचारहरू छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुराहरू भएको पुस्तक हो।”

उपन्यासको शीर्षक द प्रमिसले एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचा जनाउँछ।

द प्रमिसको कथा सन् १९८६ मा सुरु हुन्छ र सो परिवारको चार अन्तिम संस्कारमा बुनिएको छ। प्रत्येक अन्तिम संस्कार छुट्टाछुट्टै दशकमा हुन्छ र दक्षिण अफ्रिकाको फरक अवस्थामा हुन्छ।

“मलाई उनै पात्रहरूलाई समय बित्दै जाँदा कसरी फरक अवस्थामा देखाउन सकिन्छ भन्ने कुराले रमाइलो लाग्यो,” लेखकले बीबीसीको एउटा कार्यक्रममा आफ्नो किताबबारे भनेका थिए।

प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गटले उपन्यासको शीर्षकले अल्पसङ्ख्यक श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धताहरूलाई पनि जनाउने बताएका थिए। -बीबीसी

 

प्रतिक्रिया