एसपी थापा मिसन नजाने भएपछि डिएसपी गुरुङको चम्कियो भाग्य !


काठमाडौं – नेपाल प्रहरीकी प्रहरी नायब उपरीक्षक (डिएसपी) शर्मिला गुरुङ संयुक्त राष्ट्र संघीय मिसनमा छनौट भएकी छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार शर्मिला सुडान मिसनबाट फर्किएको ६ महिनामै कंगो मिसनमा छानिएकी हुन्।

डिएसपी शर्मिला सुडान मिसनबाट फर्किएको ६ महिना मात्र भयो। १० महिना बसेर जुन २०२१ मा शर्मिला नेपाल फर्किएकी थिइन्। उनी सन् २०२० सेप्टेम्बरमा सुडान मिसन गएकी थिइन्।

सुडान मिसनबाट फर्किएको ६ महिनामै पुनः कंगो मिसनमा छनौट भएको खबर समाचारमा आएपछि डिएसपी शर्मिलाको सर्वत्र आलोचना भएको छ। प्रहरी नियमावलीको व्यवस्थामा मिसनबाट फर्किएकालाई तीन वर्षसम्म अर्को मिसनमा नपठाउने उल्लेख छ।

एकपटक मिसनमा गएर फर्किएर आएकालाई तीन वर्षपछि पुनः स्याट परीक्षामा सहभागी गराएर उत्तीर्ण भएपछि मात्र मिसनका लागि छनौट गरिन्छ।

डिएसपी शर्मिलालाई प्रधान कार्यालयले छनौट गर्नुपर्ने वास्तविकता भने अर्कै रहेको पाइएको छ। डिएसपी शर्मिलाको छनौट विशेष परिस्थितिमा भएको प्रहरीको युएन शाखा प्रमुख प्रहरी उपरिक्षक (एसपी) गंगा पन्तले बताइन्।

मिसनमा २५ प्रतिशत महिला पठाउनुपर्ने राष्ट्र संघको नीति अनुसार कंगोमा ६ जनानै महिला पठाउन नाम छनौट गरिएको तर अन्तिम अवस्थामा एक जनाले नजाने भएपछि पुनः स्याट दिनु नपर्नेको खोजी गर्दा शर्मिला छनौटमा परेकी हुन्।

प्रहरी एकेडेमीमा कार्यरत एसपी तारादेवी थापाले मिसन नजाने भनेपछि डिएसपी शर्मिलाको भाग्य चम्किएको हो। ‘एसपी थापाले आफ्नो घरायसी कारण देखाउँदै मिसन नजाने भनेपछि स्याट दिनु नपर्नेको खोजी गर्दा डिएसपी शर्मिलाको भाग्य खुलेको हो,’ युएन शाखाका एक प्रहरी अधिकारीले भने।

पहिला नै कंगो मिसनमा पठाउने ६ जनाको सूचीमा डिएसपी गुरुङको नाम नभएको पन्तको दाबी छ। ‘मिसनबाट फर्किएर आएको २४ महिनाभित्र पुनः मिसनमा जाँदा स्याट दिइरहनुपर्दैन। एसपी थापा नजाने भएपछि योग्य व्यक्ति खोज्दा गुरुङ भेटिइन्,’ एसपी पन्तले भनिन्।

कंगो मिसनमा सहभागी हुन डिएसपी शर्मिलाले अन्तर्वार्ता समेत दिइसकेकी छिन यद्यपी अन्तर्वार्ताको रिजल्ट भने आइसकेको छैन। एसपी पन्तले भनिन्, ‘उनको नाम छनौट हुँदैमा मिसन जान पाउने भन्ने हुन्न। अन्तर्वार्तामा सहभागी भएको हो। अन्तर्वार्ता उत्तीर्ण भए मात्र जान पाइन्छ।’

त्यतिमात्र होइन, कंगो मिसनको लागि डिएसपी शर्मिलासँगै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रहेका एसपी ओम अधिकारी र अर्का एकजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को समेत नाम पठाइएको थियो। तर, राष्ट्र संघले उनीहरुको नाम काटेर डिएसपी शर्मिलालाई मात्र छनौट गरेको स्रोतले जनायो।

अहिले कंगो मिसनमा प्राविधिक एसपी संज्ञा मल्लको नेतृत्वमा ५ महिला र १ पुरुषसहित ६ जना छन्। सो टोली ३ महिनापछि २०२२ जनवरीमा नेपाल फर्किनेछ। त्यसपछि शर्मिलाको नेतृत्वमा टोली कंगो मिसन जानेछन्। शर्मिलाबाहेक अन्य पाँच जना भने यस अगाडि मिसन नगएकाहरू छन्।

उनीहरु २०१९ मा भाषा स्याट परीक्षा उत्तीर्ण गरेर पनि मिसन जान नपाएका स्पेशल टोली हुन्। एकपटक स्याट परीक्षा दिएर २ वर्षसम्म मिसन जान नपाएको अवस्थामा उनीहरुको स्वतः प्रक्रिया नै रद्द हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया