रात्रिकालीन अवतरण गर्ने हेलिप्याड निर्माण


जाजरकोट – तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताए ।

भेरी नगरपालिकाको सहकार्यमा उक्त हेलिप्याड निर्माण गरिएको उनको भनाइ थियो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएका थिए । हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ ।

हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थलनै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन जटिल हुनाका साथै लामो दूरी पार गर्नुपरेकाले राहतको काममा समेत ढिला हुँदै आएकोे थियो । सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गणभित्र निर्माण गरिएको हो । श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरेका थिए ।

विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपत्को समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पुर्‍याउने प्रमुख सेनानी गोतामेले बताए । अघिल्लो वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढीपहिराबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया