विराटनगर विमानस्थल शनिबारदेखि सञ्‍चालन हुने


विराटनगर – विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी थालिएको छ ।

मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्‍न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द छन् । बुधबार विमानस्थलको धावनमार्गमा ३ फिटसम्म पानी जमेको थियो ।

मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती जहाजलाई रित्तो अवस्थामा अपरान्ह काठमाडौं पठाइएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।

बिहीबार अपरान्हसम्ममा धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय भित्र, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान सुचारु गर्न समय लागने भएको छ । शुक्रबार साँझसम्म सबै पानी सुकाएर धावनमार्ग सफा गर्ने, पानीमा डुबेका उपकरणको परीक्षण गरेपछि उपकरण सकुशल रहे शनिबार बिहानदेखि उडान सुरु गर्ने प्राधिकरणको तयारी रहेको खरेलले बताए ।

यो विमानस्थलबाट काठमाडौंसहित पूर्वी पहाडी जिल्लामा सामान्य अवस्थामा दैनिक २१ वटा उडान हुँदै आएका छन् ।

 

प्रतिक्रिया