सर्वदलीय बैठकहरू एमालेले बहिष्कार गर्नुको खास कारण


काठमाडौं– प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई वटा सर्वदलीय बैठक बहिष्कार गरेको छ।

सभामुख अग्नीप्रसाद सापकोटाले केही साता अघि बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएको एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार बालुवाटारमा डाक्दा पनि बहिष्कारमा उत्रियो।

सत्ता गठबन्धनसँग रुष्ट रहेको एमाले किन यस्ता बैठकमा गइरहेको छैन?

एमालेका एकजना नेताका अनुसार प्रतिपक्षीलाई विभाजन गरी बनाइएको एकीकृत समाजवादी पार्टी सहभागी भएको बैठकमा एमाले सहभागी नहुने निर्णय भएको छ।

ति नेता भन्छन्,‘हामीले कारबाही गरेका सांसद र नेतालाई राखेर बोलाइएको बैठकमा उपस्थित हुनु नैतिकताले दिँदैन, अध्यादेश ल्याएर सभामुखले पनि जालझेल गरी पार्टीको नाम दिइएको छ र बैठकमा बोलाइन्छ, जहाँ उनीहरू हुन्छन् त्यहाँ हाम्रो विरोध रहन्छ।’

प्रतिनिधि सभामा निरन्तर विरोध गर्नुको कारण पनि सोही नै रहेको ति नेता बताउँछन्। एमालेलाई सहभागी गराउने र सहयोगी भूमिका चाहिएको भए १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुखले टाँस्नुपर्ने थियो।

तर सत्ता गठबन्धनसँगको मिलिभगतमा दल विभाजन गरियो र त्यसका निम्ति नै कपटपूर्ण शैलीमा ल्याइएको अध्यादेश फिर्ता लिइएका कारण एमाले त्यस्ता बैठकमा सहभागी हुन नसक्ने ति नेताको भनाई छ।

एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको थियो। जसबारेको मुद्दा सर्वोच्च अदालतमा छ।

प्रतिक्रिया