फेरि पक्राउ परे मुस्कान खातुनलाई एसिड प्रहार गर्ने किशोर


तस्बिरः मुस्कान खातुन

काठमाडौं – पर्साको वीरगञ्जमा मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोरलाई प्रहरीले पुनः पक्राउ गरेको छ। रौतहटको परोहा गाउँपालिका–७ घर भई वीरगञ्ज बस्ने समशाद मियाँ पुनः पक्राउ परेका हुन्।

२० भदौ २०७६ मा मुस्कानमाथि वीरगञ्ज महानगरपालिका–४ स्थित गणेश चोकमा एसिड प्रहार भएको थियो। तत्काल पक्राउ गरिएका समाशाद अदालतको आदेशले पुर्पक्षका लागि थुनामा थिए।

तर कोभिड–१९ संक्रमणका कारण अदालतले २०७६ चैत ११ मा उनलाई परिवारको जिम्मा लगाउने आदेश गरेको थियो।

२६ फागुन २०७७ मा अदालतले बाँकी कैद ५ महिना १६ दिन थुनामा राख्नेगरी १ बर्ष कैद सजायको फैसला गरेको हुँदा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो। एसिड प्रहार गर्दा समशाद १७ वर्षका थिए।

प्रतिक्रिया