कपनबाट हराएका ४ वर्षीय बालक भारतमा सकुशल भेटिए


काठमाडौं – काठमाडौँको कपनबाट हराएका चार वर्षीय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो (मंगलबार) सकुशल भेटिएका हुन् ।

भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहले जानकारी दिए ।

विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो । भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गरिएको थियो । बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले जानकारी दिए। यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ ।

उनले किन बालक लगे भन्ने अहिले नै खुलि नसकेको प्रहरीले जनाएको छ । हिजोसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो । त्यसपछि प्रहरीले बालकको खोजी थालेको थियो । बालकका बाबु बिनोद र शंकर दुवै जना काठमाडौँमा सँगै शिशाको काम गर्ने साथीहरू हुन् ।

प्रतिक्रिया