आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्थाप्रति एमालेको आपत्ति, खारेज गर्न माग
काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।
एमाले केन्द्रीय कमिटीको आइतबार सकिएको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति नजाएको छ ।
यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत भएको एमालेको ठहर छ । बजेटमार्फत गरिएको यो प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्न सक्ने भन्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यसले कालो धनलाई प्रश्रय दिने र वास्तविक लगानीकर्तालाई निरुत्साहित गर्नेछ । यसमा हाम्रो आपत्ति छ र तत्काल फिर्ता लिन माग गरेका छौं ।’