रहेनन् एमडीएच मसलाका धर्मपाल गुलाटी


नयाँदिल्ली(एजेन्सी)–एमडीएच मसाला कम्पनीको स्थापना गर्ने महाशय धर्मपाल गुलाटीको निधन भएको छ । उनी ९८ वर्षका थिए । बिहीबार दिउँसो हृदयघातका कारण उनको निधन भएको हो । उनी विगत तीन सातादेखि अस्पतालमा थिए । भारतमा एमडीएच मसलाको विज्ञापन र डिब्बामा उनको तस्बिर प्रकाशनका कारण उनले पहिचान पाएका थिए ।

एडमीएच मसाला कम्पनीको नाम उनको पिताको कारोबारमा आधारित छ । उनको पिता ‘महशियान दी हट्टी’ को नामबाट मसलाको व्यापार गर्थे । यद्यपि मानिसहरु उनलाई ‘देगी मिर्च वाले’को नामबाट चिन्दथे । उनले व्यापार र वाणिज्यका लागि सन् २०१९ मा भारतको दोस्रो ठूलो सम्मान पद्म भूषण पाएका थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उनको निधनमा दुःख व्यक्त गर्दै सानो व्यवसायबाट शुरु गरेर एक अलप पहिचान बनाएको उल्लेख गरेका छन् । नयाँदिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले पनि उनको निधनमा दुःख व्यक्त गर्दै उनी अन्य व्यक्तिलाई प्रेरणा दिने व्यक्तित्वका मालिक रहेको बताएका छन् ।

महाशय धर्मपाल गुलाटीको जन्म सन् १९२३ मा  महाशय चुन्नीलाल गुलाटी र चन्नन देवीको घर सियालकोटमा भएको थियो । यो स्थान अहिले पाकिस्तानमा पर्दछ । उनले स्कुलको पढाई शुरु गरे पनि पाँच कक्षा पनि उनले पढाई अगाडि बढाएनन् । सन् १९३३ मा उनले स्कुल छोडे र आफ्नो पितालाई सहयोग गर्दै नयाँ कारोबार गर्ने काम थाले । उनले आफ्नो आत्मकथामा ‘पौने पाँच क्लाससम्मको’ पढाई गरेको उल्लेख गरेका छन् । उनले पिताको सहयोगले ऐनाको पसल खोले, त्यसपछि साबुन र चामलको कारोबार गरे । तर यो काममा मन नलागेपछि उनले पिताको मसलाको कारोबारमा हात बढाए ।

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि देश विभाजन भयो । धर्मपालका आमाबाबुले पाकिस्तान छोडेर नयाँदिल्ली आउने निर्णय लिए र १९४७ सेप्टेम्बर २७ मा यो परिवार नयाँदिल्ली पुग्यो । त्यो समयमा उनीसँग जुन पैसा थियो, त्यसले धर्मपालले एक टाँगा किने र नयाँदिल्ली रेल्वे स्टेसनदेखि कुतुब रोडसम्म र करोल बागदेखि बाडा हिन्दु रावसम्म टाँगा चलाउन थाले । करोल बागमा उनले ‘महशियान दी हट्टी’को नामले आफ्नो पुरानो मसलाको कारोबार शुरु गरे । उनी सुख्खा मसला किनेर त्यसलाई पिसेर बजारमा बेच्दथे ।

यो कारोबार अहिले देशविदेश फैलिइसकेको छ । ९३ वर्षको पुरानो यो कम्पनी भारतसँगै यूरोप, जापान, अमेरिका, क्यानाडा र साउदी अरबमा मसला बेच्दछ । कम्पनीको कारोबार १५ सय करोड भन्दा बढी छ । उनले आफ्नो आमाको नाममा नयाँदिल्लमिा चन्ननदेवी स्पेशलिटी अस्पताल पनि बनाएका छन् ।

प्रतिक्रिया