कांग्रेस महाधिवेशनः देउवाको प्यानलमा विश्वप्रकाशको सम्भावना कति?


काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीपी जयन्तीको अवसर पारी दुई साता अघि आगामी महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका थिए। यसैसाता झापाको विर्तामोडमा एउटा कार्यक्रम गरी आफ्ना राजनीतिक अवधारणा सार्वजनिक गरे।

शुक्रबार उनले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उम्मेदवारी घोषणादेखि अनेक जानकारी गराएका थिए। उक्त भेटमा सरकारले केही राम्रा विधयेकलाई पारित गर्नुपर्ने सुझाव त थियो नै त्यो भन्दा पनि महत्वपूर्णचाहिँ महामन्त्री पदमा मैदानमा उत्रिँदा देउवाको प्यानलमा पर्ने या नपर्ने भन्ने विषय नै केन्द्रविन्दुमा रहेको बताइन्छ।

देउवा खेमामा महामन्त्री पदमा प्यानलमै बस्ने आकांक्षीको संख्या धेरै रहेका कारणले पनि विश्वप्रकाश त्यसको सुनिश्चितताको खोजी गरिरहेका छन्। देउवाले अहिलेसम्म प्यानलमा महामन्त्रीमा उठ्ने दुई जना मध्ये को–को हुनेछन् भन्ने कुनै संकेत दिएका छैनन्।

देउवा खेमामा रहेर प्रकाशशरण महत, बालकृष्ण खाँण र सुनिलबहादुर थापालगायत पनि महामन्त्री बन्ने दौडमा छन्। विश्वप्रकाश भन्दा सिनियर रहेका ति नेताको लहरमा उनलाई देउवाले स्थान दिन सक्ने सम्भावना न्युन रहेका कारण त्यसको खोजी भएको बताइन्छ।

उच्च स्रोतले भन्यो,‘महामन्त्री पदमा महाधिवेशनमा मैदानमा उत्रिने घोषणा गरिसकेपछि जित निकाल्नका लागि पनि सहज बाटो विश्वप्रकाशका लागि आवश्यक छ, त्यहि विषयमा कुराकानी भएको छ।’ स्रोतका अनुसार विश्वप्रकाशको प्रस्तावलाई देउवाले नोटिसमा लिएका छन्।

किचेन क्याबिनेटका रुपमा रहेका महत र खाँणलाई महामन्त्रीका लागि स्थान दिनुपर्ने देउवासँग बाध्यता एकातिर रहेको छ भने अर्कातिर राप्रपाबाट कांग्रेस छिरेका थापालाई पनि महामन्त्रीको प्यानलमा राख्नुपर्ने दबाब छ। थापा अहिले सह–महामन्त्री छन्। यस्तो प्रतिस्पर्धाबीच विश्वप्रकाशलाई देउवाले प्यानलमा राख्ने सम्भावना न्युन नरहेको आँकलन गरिएको हो।

महामन्त्री पदमा दोस्रो र तेस्रो तहका नेताकै दाबी र घोषणा ज्यादातर भइरहेका छन्। डा. मिनेन्द्र रिजाल पनि यो दौडमा छन्। पहिला नै महामन्त्री लडिसकेका गगनकुमार थापा पनि मैदानमा छन्।

प्रतिक्रिया