चीनले अर्को मुलुकमा कोइलाबाट चल्ने परियोजना नबनाउने


काठमाडाैं – चीनले विदेशमा कोइलाबाट चल्ने परियोजना नबनाउने भएको छ । मंगलबार चिनियाँ राष्ट्रपति सि जिनपिङले यस्तो घोषणा गरेका हुन् । राष्ट्रसंघको महासभामा बोल्दै जिनपिङले जलवायु परिवर्तन न्यूनीकरणका लागि यस्तो कदम चालेको बताएका हुन् । चिनियाँ राष्ट्रपति सिले यस विषयमा विस्तृत जानकारी भने दिएका छैनन् ।

यो नीति कसरी कार्यान्वयन हुन्छ भन्नेमा यो निर्भर गर्छ । चीनको यो कदमले आगामी दिनमा विकासशील मुलुकमा कोइला प्लान्टको वित्तीय सहयोग पनि सीमित हुने अपेक्षा छ । यसअघि विकासशील मुलुकमा कोइला प्लान्टको लागि लगानी गरिरहेको भन्दै चीनको आलोचना हुँदै आएको थियो । यसअघि जापान र दक्षिण कोरियाले पनि यस्तै किसिमको योजना ल्याएका थिए ।

अमेरिकाका जलवायु दूत जो केरीले चीनको निर्णयको स्वागत गरेका छन् । उनले चीनको यो कदम निकै सकारात्मक भएको बताएका छन् । केरीले यस विषयमा आफूहरुले चीनसँग केही समययता निरन्तर वार्ता गर्दै आएको र चीनले यस किसिमको घोषणा गर्दा निकै खुसी लागेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले पनि सन् २०२४ सम्म विकासशील मुलुकलाई सहयोग गर्न ११ अर्ब ४० करोड डलरको कोष स्थापना गर्ने प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रिया