

कतार प्रहरीमा नेपाली युवालाई रोजगारः म्यानपावर व्यवसायीबीच पैसाको चलखेल

काठमाडौं – कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई रोजगारी दिने घोषणासँगै अवैध चलखेल सुरु हुन थालेको छ। कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेको छ।
आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले नेपाली युवालाई काम दिने भएपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको पाइएको छ।
म्यानपावर व्यवसायीहरुले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी रुपमा शुल्क असुल्न थालेका छन्। म्यानपावरले प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म उठाएको स्रोत बताउँछ।
स्रोत भन्छ, ‘नेपाल सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीले १२ लाख रुपैयाँसम्म लिएर युवाहरूलाई कतार पठाइरहेको छ।’
नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन। काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको छ।
उक्त म्यानपावर कम्पनीले विदेशी एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँ उठाइरहेको स्रोतको दाबी छ।
कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले लाजिम्पाटस्थित उक्त म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति दिएको पाइएको छ।
प्रहरीमा छनोट भएका नेपाली युवाले टिकट खर्च, हवाई खर्च, प्रवेशाज्ञा र म्यानपावर कम्पनीलाई सेवा शुल्क बुझाउनुनपर्ने कतारको आन्तरिक मन्त्रालयद्वारा पेस गरिएको मागपत्रमा उल्लेख छ।
दूतावासका अनुसार म्यानपावरले फ्री भिसा र फ्री टिकटमै कामदार पठाउने गरी भिसा प्रमाणीकरण भएको जानकारी दिइएको छ। तर, कम्पनीले भने छनोट भएका व्यक्तिबाट चर्को शुल्क असुलिरहेको छ।
यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन ‘आफूखुसी रकम उठाएर’ बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो।
गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो। तर, विभागको आग्रहलाई वेवास्ता गर्दै केही म्यानपावरहरुले आफूखुसी पैसा उठाउँदा मौन बसेको छ।
वैदेशिक रोजगार विभागले गत चैतमा निकालेको सूचना
कतार प्रहरीमा भर्ना हुनका लागि उमेरको हद १८ देखि ३५ वर्ष तोकिएको छ। ५ फिट ७ इन्च उचाइका पुरुषका लागि मात्र मागपत्र पेस भएको दूतावासले जनाएको छ।
प्रहरीमा भर्ना भएर तालिम सकेपछि नेपालीहरूले मासिक ६ हजार कतारी रियाल अर्थात् करिब दुई लाख रुपैयाँ नेपाली तलब पाउने बताइएको छ।

