उपाध्यक्ष फातेमा सुमारको सन्देश– एमसीसी पारित हुनेछ!


काठमाडौं– अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमारले नेपाल सरकारले उक्त सम्झौता प्रतिनिधि सभाबाट पारित हुने संकेत दिएकी छन्।

एमसीसी पारित गराउने मिशनसहित उच्चस्तरीय राजनीतिक भेटघाट गरी फर्किएकी सुमारले यसबारेको विवाद स्पष्ट पार्न सफल भएको जनाएकी छन्। सुमारका तर्फबाट नेपालका लागि अमेरिकी राजदूतावासले विज्ञप्ति जारी यस्तो जानकारी दिएको हो।

नेपालमा एमसीसी पारित गर्नु हुन्न भन्ने एउटा ठूलो जमात सडकमा देखिएको छ। राजनीतिक दलहरूमा पनि यस विषयमा अन्तरविरोध छन्। तर सुमारसँगको भेटपछि भने प्रमुख दलका शीर्ष नेताले एमसीसी बारे सकारात्मक उत्तर दिएका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सुमारले भेटेकी थिइन्।

सबैले सकारात्मक जवाफ दिएको भन्दै अमेरिकी दूतावासले यो पारित हुने विश्वास लिएको छ।

प्रतिक्रिया