कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा


धनगडी – सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिएको छ।

थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्लामा बिदा दिएको थियो।

यस वर्ष भने कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ। थारू समुदायमा अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।

आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ।

सो समुदायले आइतबारको दिनलाई ‘अट्वार’ नामले चिन्ने हुँदा यसै दिन यो पर्व मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सास्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।

प्रतिक्रिया