दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा जेलमुक्त, स्वास्थ्यमा समस्या


काठमाडौं – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन्। दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डीसीएस) का प्रवक्ता सिनाबाखो नक्सुमालोले यसको पुष्टि गरेका हुन्।

‘पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ,’ उनले भने, ‘उहाँलाई सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेल सजाय मिनाह गर्ने सहमति भएको छ । यस कारण जेल बाहिर रहँदा पनि उहाँले विशेष शर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म उहाँ सुरक्षा अनुगमनको घेराभित्र रहनु पर्नेछ ।’

यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेल सजाय भुक्तान गर्नुपर्ने व्यवस्था दक्षिण अफ्रिकामा छ । नक्सुमालोले जुमाले पालन गर्नुपर्ने शर्तहरूबारे भने बताएका छैनन् । ‘जुमाबाट पुनः गल्ती हुने सम्भावना कम छ,’ उनले भने । अदालतको अवहेलना गरेको आरोपमा पूर्व राष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’ मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए ।

जुमाको हालै एक शल्यक्रिया भएको छ । तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन । एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म–सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारका लागि विचार गर्न सकिन्छ ।

‘सबै आवश्यक कुराहरू पूरा गरेमा सजाय पाएका सबै अपराधीहरूका लागि ‘चिकित्सा परोल’ राख्नु एउटा विकल्प हो भनेर हामी दोहोर्‍याउन चाहन्छौं । हामी सबै दक्षिण अफ्रिकीहरूलाई श्री जुमालाई चिकित्सा उपचार गरिरहँदा सम्मान प्रदान गर्न आग्रह गर्छौ,’ प्रवक्ता सिनाबाखो नक्सुमालोले भने । एजेन्सी

प्रतिक्रिया