नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज, दुवै टिम जित्ने लक्ष्यका साथ मैदान उत्रिदै


काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत नेपाली र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल हुँदैछ ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो ।

भारतीय टिमले भने बिहान सोल्टी होटलबाहिरै हल्का स्ट्रेचिङ गरेको थियो । यस्तै दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ ।

नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।

प्रतिक्रिया