बाढी, पहिरो जस्ता प्रकोपबाट जेठ ३० यता ११६ जनाले ज्यान गुमाए, ४४ जना वेपत्ता


काठमाडौँ – मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो जस्ता प्रकृतिक प्रकोपमा परि मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लगातारको वर्षाका कारण आएको पहिरोमा परेर पर्वतमा मात्रै हिजो ११ जनाको ज्यान गएको छ । बाढीपहिरो र डुबानमा परी सो अवधिमा १३६ जना घाइते भएका छन् । तीमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादु कुँवरले जानकारी दिए ।

बाढीपहिरोमा परी बेपत्ता भएका ४४ जनाको खोजीकार्य जारी छ । बाढीपहिरोमा परेका एक हजार २८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढीको कारण तीन हजार १८२ घर डुबानमा परेका, ९७८ घर, १६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

एक हजार ३०३ वटा पशु मरेका छन् । सो अवधिमा भएका जम्मा एक हजार ३४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका ६ हजार १११ मानिस विस्थापित भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण, उद्धार, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया