दश बर्षदेखि विचाराधिन सभामुख सापकोटाविरुद्धको फौजदारी मुद्दा फेरि हेर्न मिलेन


काठमाडौं– सभामुख अग्नी सापकोटाविरुद्धको अर्जुन लामा हत्या प्रकरणको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा फेरि हेर्न नमिल्नेमा राखिएको छ।

न्यायाधीश हरिकृष्ण कार्की वकिल रहेका बेला रिट निवेदकका तर्फबाट बहस गरेका कारण स्वार्थ बाझिने भन्दै हेर्न नमिल्नेमा राखिएको हो।

यो मुद्दा १० बर्षदेखि विचाराधिन छ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै ६ असार २०६८ मा मृतकपत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले दर्ता गरेका थिए ।

तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाएका थिए। त्यसपछि भने यो मुद्दा हेर्न नभ्याइनेमा राखिँदै आएको छ। पूर्णिमाया लामाले ७ मंसिर २०६९मा पतिको हत्यामा सापकोटाको हात रहेको भन्दै कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गरेकी थिइन्।

पछिल्लो पटक भने फौजदारी अभियोग लागेका मानिसलाई सभामुखमा निर्वाचित गराउन नहुने भन्दै अधिवक्ता देवप्रकाश त्रिपाठीले सर्वोच्चमा सापकोटाविरुद्ध रिट दिए। तर न्यायाधीश सपना मल्ल प्रधानको इजलासले त्यसलाई वास्ता गरेन।

प्रतिक्रिया