गोसाइँकुण्ड मेला भर्न गएका अचेत अवस्थाका तीर्थालुको उद्वार
रसुवा – जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्धार गरिएको छ ।
अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । उनको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा भञ्ज्याङ क्षेत्रमा साँझ बास बसेकै स्थानमा लेक लागेर श्रेष्ठ अचेत अवस्थामा फेला परेको हो ।
बिरामीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको आदेशबाट नेपाल प्रहरी, विष्णु दल गणका नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्वार टोली सोमबार नै परिचालन गरिएको थियो । बिरामीलाई रातभर बोकेर अस्पताल पु¥याइएको थियो ।
श्रेष्ठको जिल्ला अस्पताल धुञ्चेमा उपचार भइरहेको र उनको अवस्था क्रमिकरूपमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । ती बिरामीलाई समुद्र सतहदेखि करिब चार हजार ३०० मिटरको उचाइबाट सुरक्षाकर्मीले उद्वार गरेको हो ।
त्यसैगरी भक्तपुर जिल्लाको मध्यपुर ठिमी न.पा. ३ घर भएका अन्दाजी बर्ष ४५ का कल्का कुमार कुटु पनि धार्मिकस्थल गोसाईकुण्ड दर्शनका जाने क्रममा अचानक लेक लागि बिरामी भएको अवस्थामा प्रहरी टोलीको साथ साथै, नेपाली सेना र मेलामा गएका अन्य मानिसहरु समेतको सहयोगमा बिरामीको उद्वार गरि उपचारको लागि काठमाडौँ पठाईएको थियो।
मानव बस्ती बाहिरको हिमाली क्षेत्र भएका कारण जङ्गलको पदमार्ग पहिचान गराउन र बोक्ने कार्यमा समेत यार्साका बासिन्दाले सहयोग गरेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।
यस्तै गोसाइँकुण्ड मेलामा आएका करिब तीन हजार ५०० यात्रुमध्ये लेक लागेर बिरामी परेका चार जनालाई उद्धार गरिएको र सबैको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । अन्य तीन जनालाई गोसाइँकुण्ड क्षेत्रबाट उद्वार गरिएको बताइएको छ ।