महाधिवेशन यात्रामा हिँडेको कांग्रेसका जिल्ला सभापति मुख्यालयमा किन धर्ना बस्न थाले?

क्रियाशील सदस्यता विवाद समाधानको प्रतिवेदन सभापति देउवा र नेता पौडेलले बुझिसकेका छन् तैपनि सानेपामा धर्ना


काठमाडौं– नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापति पार्टी मुख्यालय सानेपामा धर्ना बसेका छन्। मंगलबारबाट उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएकोलगायतका माग राखी धर्ना बसेका हुन्।

जबकि, उक्त विषय समाधान गरिएको प्रतिवेदन सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले बुझिसकेका छन्। धर्नामा बसेका अधिकांश जिल्ला सभापति पौडेल पक्षका छन्।

क्रियाशील सदस्यतामा विवाद रहेका कारण महाधिवेशन धकेलिएको थियो। त्यसलाई समाधान गर्नका लागि छानविन समितिले टुंग्याउन पूर्वमहामन्त्री कृष्ण सिटौलासहित केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको थियो। उक्त जिम्मेवारीअनुसार काम सकि प्रतिवेदन बुझाइएको थियो।

प्रतिवेदनमा केही क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गरिएको छ। त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुनेसम्मको प्रतिवेदन तयार पारेको थियो।

क्रियाशील सदस्यताबारे सबैभन्दा बढी बारा र सप्तरीमा विवाद देखिएको थियो। सप्तरीको ३ नम्बर क्षेत्रका केही वडाहरूमा नयाँ सदस्यता स्थगन गएिको छ। त्यस्तै क्षेत्र नम्बर १, २ र ४ मा १३ औं महाधिवेशनका सदस्यकै आधारमा अधिवेशन गर्नेगरी समाधानको उपाय प्रतिवेदनमा उल्लेख गरिएको छ।

सिटौला नेतृत्वको समितिले गरेको सहमतिका आधारमा क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिनका लागि नेताहरु ख्टाइएको छ।

प्रदेश १ मा आनन्द ढुंगाना, प्रदेश २ मा जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरेलाई तोकिएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीले जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया