हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको २८ जना यात्रु सवार बस दुर्घटना


वीरगञ्ज – हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका बारा कोल्हवी नगरपालिका–११ बस्ने २२ वर्षीय बिहारीलाल चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको हात, टाउको र मुखमा चोट लागेको छ । अर्थोपेडिक अस्पताल हेटौंडामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ३५ वर्षीये इन्द्रबहादुर कार्कीको अवस्था भने मध्यम छ । चुरेहिल अस्पतालमा उपचाररत बाराकै कोल्हवी– ११ बस्ने २१ वर्षीय सुरज चौधरी, २८ वर्षीये राम प्रवेश रामको अवस्था सामान्य छ ।

यस्तै कोल्हवी–२ बस्ने ५७ वर्षीया देवकी पन्त र रौतहट विजयपुर नगरपालिका– १ बस्ने ३४ वर्षीय गान्धी दासको अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको छ । यसैगरी कोल्हवी-१ बस्ने ३९ वर्षीय विरेन्द्र प्रसाद चौधरी र १९ वर्षीय रोहण बहादुर अधिकरीको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक, सहचालक समेत गरी २८ जना यात्रु सवार थिए ।

प्रतिक्रिया