

लुम्बिनी प्रदेशका थप दुई मन्त्रीले पनि राजीनामा दिँदै

काठमाडौँ – लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भूमि व्यवस्था तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार यसअघि मंगलवार भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पनि पदबाट राजीनामा दिएको बताइएको छ । भौतिक पूर्वाधार राज्यमन्त्री सुसन शर्मा रायमाझीले भने एक महिना अघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् ।
यी तीनै जना मन्त्रीलाई जसपाले पार्टीको निर्णयविपरित सरकारमा गएको र पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै सांसद पदबाट पदमुक्त गरेको थियो ।
यस्तै आज मुख्यमन्त्री शङ्कर पोखरेलले पनि राजीनामा दिने तयारी गरेको बताइएको छ ।
प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न आज प्रदेशसभा बैठक बोलाएको छ । विपक्षी दलहरूले अल्पमतमा परेको भन्दै मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
सम्बन्धित समाचार : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै

