
विकल्पसहित परीक्षा स्थगित गर्ने निर्णय गर्न सरकारलाई सुझाव
काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारलाई आउदो दिनमा निर्धारित कक्षा १२ लगायत सम्पुर्ण परीक्षा विकल्पसहित स्थगित गर्ने निर्णय गर्न सुझाव दिएका छन् ।
शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ को परीक्षा रोक्न एमसीसीलाई सिफारिस गरेसँगै नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विद्यार्थीलाई अलमल नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाएका छन् ।
उनले शनिवार सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै लेखेका छन्,‘हिजो पीएमसँगको भेटमा परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौँ। प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।’
हिजो @PM_nepal_ संगको भेटमा अन्य कुरासँगै @mohpnep ले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।
— Gagan Thapa (@thapagk) August 7, 2021
कोरोना सङ्क्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार कक्षा १२ को परीक्षा स्थगित गर्न एमसीसीलाई सिफारिस गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै साउन ३१ देखि कक्षा १२ को परीक्षा सुरु गर्ने तय गरेको छ । परीक्षा अगावै अनिवार्य रूपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी बोर्डको छ ।



कागजपत्र |
