
जापानबाट ४ लाख डोज एष्ट्राजेनेका खोप आज नेपाल आउँदै
काठमाडौं – कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख गरी आठ लाख डोज खोप नेपाल आउने भएको हो।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज र भोलि दुई चरणमा आठ लाख खोप जापानबाट आइपुग्ने जानकारी दिए। मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको आठ लाख डोज खोप अर्को साता नेपाल आउने सम्भावना रहेको छ।
भुटानले पनि शुक्रबार करिब तीन लाख डोज एष्ट्राजेनेका खोप पठाएको थियो। यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ।
सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकले गत चैतमा नै लगाइसकेका छन्। दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि खरिद गरिएको खोप भारतले उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ। मन्त्रालयले साउन २५ गतेदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने तयारी गरेको छ।



कागजपत्र |
