

जयनेपाल चोक र नक्साल भगवती चोकमा नयाँ ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं – काडमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन जयनेपाल चोक र नक्सालको भगवती चोकमा ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा जयनेपाल चोक र नक्सालको भगवती चोकमा नयाँट्राफिक लाइट नयाँ जडान गरी सञ्चालनमा ल्याइको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाइट जडान गर्न पहल भइरहेको बताए।
काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको भट्टराईको भनाइ छ।
प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए।
एसएसपी भट्टराईले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए।
यनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गरे।
ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाइट जडानको लागि समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ।
ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ।

