

कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी, पूर्वाधार तयारी अवस्थामा राख्न मन्त्रालयकाे अनुरोध
काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताएका हुन् ।
तेस्रो लहर आउन सक्ने भएकाले सबै स्वास्थ्य सङ्घ संस्थालाई अक्सिजन, शय्या लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए । ‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ’, उनले भने, ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।’
नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

