

नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै, न्यूनतम १० लाख डोज खोप ल्याउने

काठमाडौँ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को जहाज आज बेइजिङ जाने भएको छ । कोरोना विरुद्धको सिनोफार्म खोप ल्याउन आज राती निगमको जहाज बेइजिङ प्रस्थान गर्ने छ । जहाजले न्यूनतम १० लाख डोज खोप ल्याइने छ ।
कार्यतालिका अनुसार भोलि बिहान ६ बजे खोप ल्याएर काठमाडौँ आइपुग्ने छ । सो जहाज थप १० लाख डोज खोप ल्याउन पुनः भोलि बेइजिङ जाने छ । यस्तै बाँकी खोप ल्याउन शनिवार पुनः निगमको जहाज बेइजिङ प्रस्थान गर्ने कार्यतालिका छ ।
चीनबाट तीन खेपमा ३२ लाख डोज खोप ल्याउने सरकारको योजना छ । नेपालले नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

