
प्रधानमन्त्री देउवाले गृह मन्त्रालयमा खाँड रोज्नुको राजनीतिक ‘दिशानिर्देश’
काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयको जिम्मा आफ्ना अति विश्वाशिला पात्र बालकृष्ण खाँडलाई दिएका छन्।
गठबन्धन सरकारमा प्रायः प्रधानमन्त्री लिएको पार्टीले गृह मन्त्रालय अर्को ठूलो र सहयोगी दललाई दिने प्रचलन नेपालमा थियो। यस हिसाबले नेकपा माओवादी केन्द्रबाट सरकारमा नेतृत्व गर्ने जनार्दन शर्मा गृहमन्त्री बन्न सक्ने अनुमान गरिएको थियो।
तर माओवादीले भने अर्थ मन्त्रालय पाएको छ। देउवाले गृह मन्त्रालय राख्नुको राजनीतिक दिशानिर्देश के हुन सक्छ?
विश्वासको मत पाएको खण्डमा पनि अब बढीमा डेढ बर्षपछि आवधिक निर्वाचनमा जानुपर्ने हुन्छ र त्यसलाई प्रभावकारी बनाउनका लागि सुरक्षा मामिला मन्त्रालय आफैंसँग भएको उचित हुने ठान्छन्, नेपालका राजनीतिज्ञ। यसकारण पनि देउवाले गृह मन्त्रालयमा आफ्ना निकट रहेका खाँडलाई जिम्मेवारी दिएको बताइन्छ।
नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि यहि विषयलाई केन्द्रिकृत गर्दै भनेका छन्,‘कांग्रेसले गृह मन्त्रालय राख्नु भनेको चुनाव हुन्छ भन्ने नै हो।’
देउवा चाँडो भन्दा चाँडो चुनावमा नै केन्द्रित हुने दिशामा अघि बढ्ने लगभग निश्चित जस्तो छ। अहिले कम्युनिस्ट पार्टीभित्र विभाजनको अवस्था रहेको र कांग्रेस महाधिवेशनलाई पनि धकेल्दा आफूलाई राजनीतिक रुपमा लाभ हुने देउवाको राजनीतिक दिशानिर्देश हुने पनि बताइएको छ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका कारण देउवाका लागि अब प्रतिनिधि सभामा विश्वासको मत लिनु अनिवार्य छ। तर, उनले विश्वासको मत नपाएको खण्डमा पनि प्रधानमन्त्रीका हैसियतमा निर्वाचन घोषणा गरी अघि बढ्नुपर्ने राजनीतिक कोर्स रहन्छ।
खासगरी यता एमालेभित्र सहमति हुने देखिएका कारण सरकार गठनमा देउवालाई सहयोग भए पनि माधवकुमार नेपाल पक्षले उनलाई विश्वासको मत नदिन सक्ने बताइन्छ। देउवा पनि यहि नै चहान्छन् र चुनावमा जान उनी इच्छुक छन्। त्यहि प्रभावित नहोस् भन्नका लागि उनले गृह मन्त्रालय आफूनिकट नै राखेका हुन्।



कागजपत्र |
