

राष्ट्रपति हत्याबारेमा फर्स्ट लेडीको पहिलो अभिव्यक्ति, भनिन्-एक शब्द बोल्न दिएनन्

काठमाडौं – हेइटीमा राष्ट्रपति जोभेनल मोइजको हत्या भएको चार दिनपछि पहिलो पटक फर्स्ट लेडी मार्टिन मोइजले सो हत्याको घटनाबारे अभिव्यक्ति दिएकी छिन् ।
यसअघि गत बुधबार बिहानै राष्ट्रपति मोइजसँगै मार्टिनलाई पनि बन्दुकधारीले गोली हानेका थिए । गम्भीर घाइते भएकी उनी बेहोस भएकी थिइन् । उनलाई अमेरिकाको फ्लोरिडा उपचारको लागि लगिएको थियो ।
शनिबार घटनाको बारेमा पहिलो पटक जानकारी दिँदै उनले ट्वीटरमा भनेकी छिन्, ‘केहीबेरमै ती आक्रमणकारीहरू घरमा घुसेर मेरा श्रीमानलाई गोली हाने ।’ उनी आफ्नो श्रीमानको हत्या गर्ने गिरोह ठूलो अपराधी भएको बताउँछिन् । उनी भन्छिन्, ‘आक्रमणकारीले एक शब्द बोल्ने मौका दिएनन् ।’
उनले यो हत्याकाण्ड हुनुमा राजनीतिक कारण भएको पनि अनुमान गर्छिन् । शुक्रबार मात्र हेइटीका प्रहरीले राष्ट्रपति मोइजको हत्या विदेशी आक्रमणकारीबाट भएको बताउँदै ती आक्रमणकारी विशेषगरी कोलम्बियाका पूर्व सेना रहेको बताएका थिए ।
प्रहरी प्रमुख लियोन चार्ल्सका अनुसार राष्ट्रपतिको हत्यामा २६ कोलम्बियाका नागरिक र हेइटी मूलका दुई अमेरिकी आक्रमणकारी सामिल थिए । हालसम्म ८ संदिग्ध अझै फरार रहेको बताइएको छ, दुई अमेरिकीसहित १७ लाई भने प्रहरीले गिरफ्तार गरिसकेको छ । बाँकीको भने प्रहरीको मुठभेडमा मृत्यु भएको छ ।
कोलम्बियाको सरकारले यो आक्रमणको घटनामा ६ आफ्ना पूर्व सेना संलग्न भएको पुष्टि गर्दै अनुसन्धानमा सक्दो सहयोग गर्ने हेइटीलाई बताएको छ । गत बुधबार बिहानै राष्ट्रपति मोइजलाई उनको निजी निवासमै घुसेर गोली हानी हत्या गरिएको थियो । बीबीसी

