

हस्ताक्षर फिर्ता हुन सक्दैन, यो मेरो बटम लाइन हो : माधव नेपाल

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अदालतलाई प्रभावित बनाउने गरी कुनै पनि सहमति नहुने बताएका छन् । नेकपाको आन्तरिक विवाद मिलाउन गठित कार्यदलका सदस्यहरूसँगको छलफलमा नेता नेपालले उक्त कुरा बताएका हुन् ।
नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा गरिएको हस्ताक्षर फिर्ता लिएर सहमति नहुने भन्दै अदालतलाई प्रभाव पर्ने गरी कुनै पनि सहमति नगर्ने र अन्य विषयमा सहमतिको लागि तयार रहेको बताए ।
उनले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटम लाइन भएको बताएका छन् । उनले भने,‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन, हस्ताक्षर फिर्ता हुन सक्दैन, यो मेरो बटम लाइन हो ।’
सिंहदरवारमा अहिले कार्यदलको बैठक जारी छ । आज सहमतिको दस्ताबेजमा हस्ताक्षर गरी स्थायी कमिटी बैठकबाट सहमति भएको सार्वजनिक गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
प्रतिनिधिसभा विघटन मुद्दामा भोलि (२८ गते) फैसला हुने तयारी भइरहेको छ । उक्त फैसला अघि नेकपा एमालेको एकताको सन्देश दिने तयारीमा नेताहरू जुटिरहेका छन् ।

