

प्रधानमन्त्रीद्वारा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन गरेका छन् । आइतबार बिहान एक कार्यक्रमबीच उनले वीर अस्पतालमा रहेको नवनिर्मित सर्जिकल भवनसहित युनिफाइड केन्द्रीय अस्पतालको उद्घाटन गरेका हुन् ।
सरकारले ल्याएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड-१९ युनिफाइड अस्पताल बनाइने उल्लेख छ । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा रूपान्तरित यो सर्जिकल भवन ५ सय बेडको हुने बताइएको छ ।
अस्पतालको प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई सरकारले नियुक्त गरेको छ । नयाँ भवनमा आगामी दिनमा २५ बेडको आकस्मिक कक्षलाई सय बेड, आइसीयूलाई २ सय बेड बनाइनुका साथै १५ बेडको मिर्गौला डायलसिसलाई बढाएर सय बेडमा स्तरोन्नति गरिने गौतमले जानकारी दिए । कम्तीमा दैनिक ७५ वटा सर्जरी, मासिक १५ वटाभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य रहेको जनाउँदै उनले नयाँ भवनका लागि दुईवटा अक्सिजन प्लान्ट र एउटा लिक्विड अक्सिजन ट्यांक जडान गरिएको बताए ।
उक्त भवन २०७४ फागुन २५ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए । यसअघि वीर अस्पताल प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा छ ।

