पूर्व जनमुक्ति सेनाका कमाण्डर थापाले जब प्रचण्डलाई ‘अवैधानिक’ भनिदिए…
काठमाडौं– पूर्व जनमुक्ति सेनाका कमाण्डर लिलबहादुर थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवैधानिक भएको बताएका छन्। उनले निर्वाचन आयोगमा पुगी माओवादी केन्द्र नै अवैध भएकाले प्रचण्डको वैधानिकता नरहेको टिप्पणी गरेका हुन्।
माओवादीबाट एमालेमा प्रवेश गरेपछि गण्डकी प्रदेश सह–इन्चार्ज रहेका थापाले बुधबार निर्वाचन आयोगमा महाधिवेशन नगरेको अवैधानिक पार्टी र अध्यक्षले कारबाही गर्न नसक्ने जिकिर गरेका हुन्।
पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित हुँदा प्रचण्डलाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा रामबहादुर थापा बादलसहित थापा पनि आएका थिए।
उनीहरुमाथि प्रचण्डले कारबाही गरी सांसद पद नै हटाएपछि निर्वाचन आयोगमा उजुरीका लागि पुगेका थिए। जनप्रतिनिधिहरूमाथि माओवादीले श्रृंखलावद्ध कारबाही अभियान चलाएको छ।
२०६९ माघ २० देखि २६ सम्म महाधिवेशन गरेको माओवादीले २०७३ सालमा अर्को महाधिवेशन गर्नुपर्ने भए पनि प्रचण्ड स्वघोषित अवैधानिक अध्यक्ष भएको थापाको जिकिर छ।
बादलसहितका माओवादी कारबाहीमा परेका नेताहरुको तर्फबाट लीलबहादुरसहित २३ जना निर्वाचन आयोगमा पुगेका थिए।