

गुप्तचर प्रमुख अधिकारी र मिडिया मालिक थापा रअ प्रमुख गोयललाई निम्तो दिन नयाँदिल्ली पुगेका थिए

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीभित्र विवादको चरम उत्कर्स रहेका बेला भारतसँग बिग्रिएको सम्बन्धलाई बलियो बनाउनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा भेटेका त्यहाँका गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसीस विङ्गस् (रअ) प्रमुख सामन्त गोयललाई निम्तो दिइएको तथ्य खुलेको छ।
गोयल आउनु अघिका साताहरूमा यी सबै अभ्यास गरिएको उच्च स्रोतले जनाएको छ। त्यसका लागि प्रधानमन्त्री ओलीले अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रयोग गरेका थिए।
पार्टीभित्र राजीनामा मागेर हैरान पार्नुको कारण भारतको प्रभाव समेत रहेको बुझेपछि त्यहाँको प्रशासनलाई सन्देश पठाउनका लागि प्रधानमन्त्री ओली यसरी सक्रिय भएका थिए। अहिले पनि पुष्पकमल दाहाल प्रचण्डलगायतका ५ जना नेता उनको राजीनामा माग गरिरहेका छन्।
यता चरम विवाद र टकराव रहेका बेला प्रधानमन्त्री ओलीले थापालाई बालुवाटारमा बोलाएर भारतका उच्च तहका प्रतिनिधिसँग कुराकानी गर्ने मेसो मिलाउन भनेका थिए। उक्त सन्देश र निम्तो बोकेर थापासहित प्रधानमन्त्री माथाहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी नयाँ दिल्लीस्थित रअ प्रमुखलाई भेट्न पुगेको उच्च स्रोतले जनायो।
यहि विषयको चर्चा फरक ढङ्गबाट हुन थालेपछि प्रधानमन्त्री ओलीले सबै कुराको चिरफार गर्न थापाकै टेलिभिजनमार्फत अन्तरवार्ता दिएका थिए। उनले सो अन्तरवार्ताका क्रममा गोयल मोदीको दूतका रुपमा आएको स्पष्ट त पारेका थिए तर भारतीय मिडिया र प्रशासन तथा विदेश मन्त्रालयले यस विषयमा कुनै पनि वक्तव्य वा औपचारिक धारणा सार्वजनिक गरेनन्। यस विषयमा भारतीय राजदूतावासले पनि ‘अफिसियल स्टेटमेन्ट’ नदिनुको कारण गोयलको नेपाल भ्रमण औपचारिक थिएन।
जसरी भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आउँदा भारतले ‘अफिसियल स्टेटमेन्ट’ दिएको थियो।
गोयल बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न जाँदा पनि थापाले तयार पारेका सवारी साधनहरूमा जानु, भारतीय दूतावासले औपचारिक रुपमा कुनै पनि कार्यक्रम, भोज र परिचय गोयलका लागि नराख्नुले पनि यसलाई स्पष्ट पार्छ।
क्याप्टेन थापा अहिले पनि नयाँ दिल्लीमा नै रहेको बताइन्छ। नेकपाभित्र प्रधानमन्त्री ओली कमजोर भएपछि भारतीय अधिकारीसँग गोप्य परामर्शका लागि थापा नयाँ दिल्लीमा रहेको बताइन्छ।
ओलीको सेखी झार्न प्रचण्ड पनि भारतबाटै परिचालित
यता ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनका निम्ति सचिवालय बैठकमा प्रचण्ड कस्सिनु पनि भारतीय पक्षकै लविङको प्रभाव रहेको बताइएको छ।
खुलारुपमा भारतले आफ्नो सरकार गिराउन लागेको भन्ने प्रधानमन्त्रीको तर्क, अयोध्या नेपालमै भएको अर्को तर्कका कारण भारतीय प्रशासन ओलीसँग क्रुद्ध थियो। सोही बेला भएको स्थायी समिति बैठकमा प्रचण्डले भनेका थिए– भारतले हैन राजीनामा मैले माँगेको हुँ।
‘वास्तवमा त्यो प्रचण्डको भाषा थिएन। उनले खुलेर जे भनेका थिए त्यो भारतीय लविङका आधारमा नै भएको थियो’, उच्च स्रोतले भन्यो,‘जुनबेला प्रधानमन्त्री भारतविरुद्ध अभिव्यक्ति दिइरहेका थिए प्रचण्डले स्थायी समितिको बैठकमा नेकपाको एजेन्डा नराखी विवादीत भनाई र प्रस्ताव राख्नुको कारण अरु हुनै सक्तैन।’
सचिवालयको बैठकमा अहिले विवाद देखिनु र ओलीसँग जोडिएका उपाध्यक्ष बामदेव गौतम पनि अड्डी लिएर प्रचण्डको भनाईतिर लम्किनुको अर्थ पनि त्यहि नै लाग्छ। ‘सचिवालयमा बहुमत सदस्यलाई आफूनिकट ल्याउनका निम्ति प्रचण्डले गरेका अभ्यासका अध्यायहरू पद र सत्ताका निम्ति हुन्। अन्य चार नेतालाई पनि भारतीय शक्ति केन्द्रको दबाबमा पारिएको छ’, स्रोतको दाबी छ।
यो पनि पढ्नुहोस्
रअ प्रमुख गोयललाई काठमाडौं घुमाउन मिडिया मालिक र विवादीत व्यापारीको ‘कनेक्सन’ भेटियो

