

‘शपथ लिएको आधा घण्टा नबित्दै उपप्रधानमन्त्री महतोको संविधानको मर्म विपरीत अभिव्यक्ति’

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएको बताएका छन् ।
उपाध्यक्ष गौतमले उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरे लगत्तै संविधानको मर्म विपरीत अभिव्यक्ति दिएको बताउँदै उक्त अभिव्यक्तिले आफुलाई अत्यन्तै दुःखी बनाएका बताएका हुन् ।
‘संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्तै दुःखी भएको छु,’ गौतमले लेखेका छन् । संविधानले अनेकौं विशेषता सहितको नेपाल राष्ट्र र राज्य स्पष्ट भनेको उनले उल्लेख गरेका छन् ।
महतोको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीको अनभिज्ञता देखेर आश्चर्यमा परेको पनि गौतमले बताएका छन् ।

