महन्थ पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगायो


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन ।

जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए ।

महन्थ पक्षले माग गरेको गृहमन्त्रालय नदिने भएपछि उक्त पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर हालसम्म यस विषयमा कुरा मिलेको छैन ।

प्रतिक्रिया