

प्रतिवेदन आउनुअघि नै तत्कालिन गृहमन्त्री पौडेलले ‘हत्या दिपेन्द्रले गरेका हुन्’ भनेका थिए

काठमाडौं– १९ जेठ, ०५८ को दरबार हत्याकाण्डका अनेक विषय रहस्यमा नै छन्। त्यसबेला प्रधानमन्त्री थिए नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र गृहमन्त्री रामचन्द्र पौडेल।
दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै सखाप भएको दुई दशक बित्दा पनि यस प्रकरणलाई रहस्यमयी तरिकाले बुझिने गरेको छ। जबकि तत्कालिन सभामुख तारानाथ रानाभाट संयोजकको छानबिन समितिको प्रतिवेदनले हत्या युवराज दिपेन्द्रले गरेको भनी किटान गरेको थियो।
तर, उक्त प्रतिवेदनमा विश्वास नगर्ने आधारचाहिँ रानाभाटले पत्रकार सम्मेलनमा भनेको ‘रटट…र भटट…’ थियो। उनको प्रतिवेदन पढाईलाई विश्वसनीय ढंगले नलिएको त वीरेन्द्रका एडीसी रहेका सुन्दरप्रताप रानाको पुस्तक ‘दरबारको दुखान्त’मा पनि उल्लेख छ।
तर उक्त घटनाको छानबिन समितिका संयोजक रानाभाटका पनि केही गुनासा छन्। छानबिनको काम जारी भए पनि तत्कालिन प्रधानमन्त्री कोइराला र गृहमन्त्री पौडेलले पर्याप्त अधिकार दिएका थिएनन्। बरु, कतिपय विषयमा छानबिनमा बाधा अड्चन गरेको उनले सम्झिएका अन्तरवार्ताहरु सतहमा छन्।
छानबिन प्रभावित हुनेगरी प्रतिवेदन सार्वजनिक हुनुअघि नै तत्कालिन गृहमन्त्री पौडेलले हत्या दुई दिनका लागि राजा घोषणा गरिएका दिपेन्द्र शाहले गरेको भनी बीबीसीमा अन्तरवार्ता दिएको रानाभाटले स्मरण गरेका छन्।
दरबार हत्याकाण्ड अहिलेसम्म रहस्यमा रहेता पनि कतिपयले पूर्वराजा ज्ञानेन्द्र र पारसतिर औंला सोझ्याउने गर्छन्। तर, ज्ञानेन्द्रले हालैका केही महिनाअघि त्यस्तो भए छानबिन गर्नका लागि सरकार स्वतन्त्र रहेको बताएका विवरण सतहमा आएका थिए।
उक्त हत्याकाण्डका अनेक प्रकारका हल्ला पनि नआएका होइनन्। कतिपयले दिपेन्द्रको मुकुन्डो लगाएर अनेक मानिसले गोली चलाएको भनी दाबी गरेका थिए।

