भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
बाँके – भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड-१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए ।
मृतक ५२ वर्षका पुरुष हुन् । मृतकका भाइ मानबहादुर नेतृत्वको समूह आक्रमणमा उत्रिएपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् ।
त्यस्तै घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।