संवैधानिक इजलासमा वकिल र महान्यायाधिवक्ता बडालबीच विवाद, आइतबारसम्म सुनुवाइ स्थगित


काठमाडौं – संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएको छ ।

प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइको क्रममा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद हुँदा सुनुवाई स्थगित भएको हो ।

नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासभमा विवाद भएको थियो । बन्दीले बमकुमार श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताएका थिए ।

विवादकै बीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद भएको थियो । महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकार समेत लिन खोजेको भन्दै आपत्ति प्रतिवाद गरेका थिए । विवादकै बीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गरेका हुन् ।

प्रतिक्रिया