

हतियारधारी अज्ञात समूहबाट धरान प्रहरी चौकीमा आक्रमण

सुनसरी – हतियारधारी अज्ञात समूहले धरानस्थित एक प्रहरी चौकीमा आक्रमण गरेको छ । आज बिहीबार साँझ सात बजे चौकीमा आएर प्रहरीमाथि आक्रमण भएको हो ।
जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका ती हतियारधारी युवाहरु ६ वटा मोटरसाइकलमा आएको बताईएको छ । धरान–१५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा त्यहाँ ड्युटीमा रहेका पाँचजना प्रहरी घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।
उनले जाहेरीकर्ता युवालाई हतियारधारीहरुबाट बचाउन खोज्दा हतियारधारी युवाहरुले प्रहरीमाथि नै आक्रमण गर्दा चौकी इन्चार्ज दाहालसहित अन्य प्रहरी पनि घाइते भएको प्रहरी निरीक्षक ओलीले बताए ।

