

यसरी एमालेमा ‘स्थायी संस्थापन’ दरिए महासचिव ईश्वर पोखरेल

काठमाडौं– सत्ता राजनीतिमा अहिले नेकपा एमालेभित्र विवाद पेचिलो बनिरहेको छ। संस्थापन पक्ष र नेता माधवकुमार नेपाल पक्षको आन्तरिक विवादले एमाले विभाजनको लयमा हिँडेको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललगायत ११ जनालाई पार्टी सदस्यबाट नरहनेगरी कारबाही गरिसकेका छन्। एमालेको आन्तरिक विवाद समाधानका लागि नेताहरु सक्रिय देखिएका थिए।
संगठनात्मक एकताका लागि कार्यदल पनि बनेको थियो। तर, एउटा प्रश्न नेपथ्यमा थियो–महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको सक्रियता किन देखिएन?
पोखरेल यस प्रकरणबारे भन्छन्,‘प्रचारमा मात्र नआएको हो। तर सबैभन्दा बढी आन्तरिक रुपमा कुराकानी गर्ने मानिस म पनि हुँ। मैले नेता माधवकुमार नेपाललगायतसँग बारम्बार कुराकानी गरेको थिएँ। तर, उहाँहरु कुरा सुन्ने कति मुडमा हुनुहुन्छ भन्नेचाहिँ मूल प्रश्न बन्यो।’
नेता नेपालसँग एउटै कमिटीमा रहेर कोओर्डिनेशन केन्द्रदेखि एमालेसम्म ४५ बर्ष काम गरेका पोखरेलले धेरै राजनीतिक उतारचढाव, नेतृत्वमा आउने जाने नेताका विषयमा बुझेका छन्।
तर उनकै बारेमा भने एउटा प्रसङ्ग निस्कियो– तपाईले भन्नुभएको थियो, म जहाँ उभियो त्यहि संस्थापन। वास्तवमा किन भन्नुभएको थियो?
यस विषयबारे पनि मिहिन ढंगले पोखरेल खुलेका छन्।
एमालेमा कोही प्रतिपक्षी कोही संस्थापनमा नेतृत्वअनुसार फेरबदल भइरहे। तर पोखरेल सँधैभरी संस्थापन नै रहे। उनले कुनै बेला भनेका थिए,‘म जहाँ उभियो त्यहिँ संस्थापन।’ उनले यो कुनै दम्भ र अहंकारले भने भनेका होइन रहेछन्।
पोखरेल भन्छन्,‘एउटा अनौपचारिक कुराकानीका क्रममा पार्टीका नेता रघुजी पन्तले भन्नुभयो– महासचिवचाहिँ सँधै संस्थापन। म यस विषयमा घोत्लिएँ।’
पन्तले जे अर्थमा भने पनि पोखरेलले कम्युनिस्ट पार्टीमा सक्रिय हुँदादेखिको विगतलाई स्मृतिमा ल्याउँदा अहिलेसम्म उनी जहाँ–जहाँ जो–जो नेतासँग उभिएका थिए, त्यहि नै संस्थापन रहेको पाए। भन्छन्,‘कोओर्डिनेशन केन्द्रको तेस्रो र चौंथो सम्मेलन धनुषा र सिरहामा गर्ने आयोजक कमिटीमा पनि थिएँ। म सक्रिय थिएँ।’
त्यसअघि सीपी मैनालीको कमिटीमा बसेर पनि पोखरेलले काम गरेका थिए। मदन भण्डारीसँगका कतिपय प्रसङ्गसहितका विगतलाई पुस्तकमा समेत उतारेका पोखरेललाई ०४६ सालको जनआन्दोलनमा काठमाडौंको कमान्डर नै बनाइएको थियो।
पछिल्ला केही महाधिवेशनलाई विश्लेषण गर्दा पनि पोखरेल संस्थापनमा नै रहेको स्पष्ट चित्र छ। १५ बर्ष माधवकुमार नेपाल महासचिव हुँदा उनकै कमिटीमा काम गरेका उनी आठौं महाधिवेशनमा झलनाथ खनाल अध्यक्ष हुँदा निर्वाचित महासचिव थिए।
यस्तै नवौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदा उनी फेरि महासचिवमा निर्वाचित भए। उनी अहिले सोही कमिटीमा रहेका छन्।
एमालेको यात्राका क्रममा माओवादीसँग एकीकरण हुँदा उनी महासचिवबाट केन्द्रीय सचिवालय सदस्य मात्र भए। त्यसबेला पनि उनी संस्थापन रहेका अध्यक्ष ओलीतिरै उभिए। जसका कारण स्कुल विभाग प्रमुख बनेका थिए।
नेकपामा महासचिवबाट सचिवालय सदस्य मात्र हुँदा पनि असन्तुष्टि व्यक्त नगरेका उनले केही नेताहरूले गरेका प्रश्नमा भनेका थिए,‘इतिहासको गर्भमा रहेका केही अनुत्तरित विषयलाई भविष्यले उत्तरित बनाउनेछ।’
अहिलेकै अवस्था होला भन्ने सोचमा उनले भनेका थिएनन्। तर, परिस्थितिले फेरि एमाले ब्युँतिँदा पोखरेलले प्रक्षेपण नगरेको तर प्रतिक्रिया दिएकै परिस्थितिमा कम्युनिस्ट पार्टी आइपुगेको छ।

