

उपचारका लागि अक्सिजन अभाव नहुने दाबीः राज्यमन्त्री मानन्धर

काठमाडौं – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव नहुने बताएका छन् ।
काठमाडौँको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पतालको शुभारम्भ गर्दै मानन्धरले अक्सिजनको अभाव समाधान उन्मुख रहेको दाबी गरे । महामारिको दोस्रो लहर उत्कर्षमा केही दिन पुग्दा अक्सिजनको चरम अभाव देखिए पनि सरकारले निरन्तरको प्रयासपछि समस्या समाधान उन्मुख भएको मानन्धरको दाबी छ ।
मन्त्री मानन्धरले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा सरकार केन्द्रीत भएको दाबी गर्दै अमेरिका, बेलायत, भारत र चीनलगायतका देशहरुसँग खोप उपलब्धताबारे निरन्तर संवाद भइरहेको बताए ।
कोरोना महामारीले निम्त्याएको समस्या समाधानमा सरकारले सबै शक्ति प्रयोग गरेको बताउँदै मन्त्री मानन्धरले निषेधाज्ञाको पालना गरेर साथ दिन सर्वसाधारणलाई अपिल समेत गरे ।
कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र कोरोना उपचारका लागि व्यवस्थापन सहज पारिएको बताउँदै नागरिकलाई उपचारमा समस्या हुन नदिने प्रतिवद्धता जनाए ।

