

यसकारण पूर्वसभामुखहरू भेट्दैछन् सापकोटा

काठमाडौं– प्रतिनिधि सभा विघटनपछि कानुनीलगायत राजनीतिक विषयमा सभामुख सापकोटा परामर्शमा सक्रिय रहेका छन्। उनले कानुनकर्मीसँग राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि सदन विघटन गरेको विषयमा परामर्श गरेका थिए।
सभामुख भएपछि राम्रोसँग सदन चलाउन नपाएका उनले पूर्वसभामुखहरू पनि मंगलबार परामर्श गर्ने भएका छन्। उनले अहिलेको संकट व्यवस्थापनका लागि सभामुखको भूमिका कस्तो हुन सक्छ भन्ने विषयमा ०४८ साल यताका सभामुखसँग परामर्श गर्न लागेका हुन्।
दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरासँग सभामुख सापकोटाले परामर्श गर्न लागेका हुन्।
‘सदन भंग गर्ने अधिकार राष्ट्रपतिमा भए पनि सभामुखको भूमिका कस्तो हुन्छ र कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा परामर्श गर्न लागिएको हो’, सापकोटानिकट स्रोतले भन्यो।

