अदालतको आदेशपछि सच्चियो सरकार, सरकारी अस्पतालमा कोरोनाको परिक्षण र उपचार निःशुल्क गर्ने निर्णय


काठमाडौं – सरकारी अस्पतालमा कोरोनाको परिक्षण र उपचार निःशुल्क हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि निश्चित वर्गका बिरामीको मात्र कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेपछि सरकारी अस्पतालमा समेत शुल्क लिन थालिएको थियो । यसै क्रममा सरकारी अस्पतालहरु कोरोना संक्रमितको उपचारका लागि विभिन्न मूल्यसूची समेत सार्वजनिक गरेका थिए ।

तर, सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

त्यसपछि सरकारले फैसला पुनरावेदनका लागि दिएको निवेदन समेत खारेज भएपछि आफ्नो निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा कोरोना परिक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि उपचारका लागि असमर्थ र निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय भएकोमा अबदेखि सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरिएको जनाइएको छ । यसअघि सरकारले निःशुल्क उपचारका लागि विभिन्न निकाय र उपचार गर्न नसक्ने स्वयं घोषणा गर्नुपर्ने निर्णय समेत गरेको थियो ।

‘अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ, सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निर्णय भएको छ, ’ मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने । उनका अनुसार यो निर्णय तत्कालदेखि नै लागू हुने जनाइएको छ ।

प्रतिक्रिया